गृहपृष्ठ सुरुङ निर्माणका लागि सर्वेक्षण

सुरुङ निर्माणका लागि सर्वेक्षण

तराई(मधेस द्रुतमार्गको सुरुङ र मोटरेबल पुल (हाइब्रिज) निर्माणका लागि सर्वेक्षण सुरु भएको छ । सुरुङ तथा ‘हाइब्रिज’ निर्माणको जिम्मा पाएका चिनियाँ कम्पनीले सर्वेक्षण सुरु गरेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले , ‘‘निर्माण कम्पनीका प्राविधिकले सुरुङ तथा ‘हाइब्रिज’ बनाउनुपर्ने ठाउँमा पुगी बोर होल ड्रिलिङ मेसिन लगायतको उपकरणबाट ‘जियो फिजिकल सर्वे’ र ‘जियो टेक्निकल सर्वे’को काम सुरु गरिसकेका छन् । सुरुङ तथा हाइब्रिजको डिजाइन तयार गर्ने प्राविधिक छिट्टै नै चीनबाट आउने छन् र डिजाइनको काम सुरु गर्ने  ’’बताए ।

कोभिड–१९ को महामारीका कारण डिजाइन गर्ने प्राविधिक आउन ढिलाइ भएको उनको भनाइ छ । निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार सर्वे तथा डिजाइनको अवधि छ महिना रहेको छ । दुई चरणमा निर्माण गरिने सुरुङ तथा ‘हाइब्रिज’का लागि वैशाख ३१ गते नेपाली सेनाले दुईवटा चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । सुरुङको प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज–२ का लागि पोली च्याङ्दा कन्सट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । दुईवटै प्याकेजको निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने हुन्छ ।

पहिलो प्याकेजअन्तर्गत छोक्रेडाँडादेखि धेद्रेसम्म तीन दशमलव ३५५ किलोमिटर र दोस्रो प्याकेजअन्तर्गत धेद्रेदेखि लेनडाँडासम्म तीन दशमलव शून्य तीन किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने छ । पहिलो र दोस्रो प्याकेजको निर्माण लागत क्रमशः २१ अर्ब ६१ करोड र २८ अर्ब ५३ करोड रुपियाँ छ । सुरुङ तथा ‘हाइब्रिज’ र अन्य निर्माण कार्य सँगसँगै अगाडि बढ्ने सैनिक प्रवक्ता पौड्यालले बताए  । आर्थिक वर्ष २०८०/८१ भित्र आयोजना सम्पन्न गर्नुपर्ने लक्ष्य लिइएको छ ।सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै द्रुतमार्ग निर्माणका अन्य काम जारी रहेको र अहिले सडकको लेभलिङ, ग्रेडिङ, बेलिब्रिज जडान, पहुँचमार्ग र कल्भर्ट निर्माणको काम भइरहेका छन् ।

सम्बन्धित शीर्षकहरु