गृहपृष्ठ भारतबाट आएका सुदूरपश्चिमका तीन जनामा देखियो नयाँ भेरियन्टको कोरोना

भारतबाट आएका सुदूरपश्चिमका तीन जनामा देखियो नयाँ भेरियन्टको कोरोना

कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्केका उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए।संक्रमितहरू कञ्चनपुर, डडेल्धुरा र डोटीका हुन्।

एक साताअघि उनीहरूसहित २० जनाको स्वाब संकलन गरी जाँच गरिएको थियो।उनीहरूमा फेला परेको कोरोनाभाइरस कुन भेरियन्टको हो भनी परीक्षण गर्न काठमाडौं पठाइएको थियो।अहिले संक्रमित तीनै जना होम आइसोलेसनमा छन्।

गौरीफन्टा हुँदै स्वदेश फर्केका सबैको भने कोरोना परीक्षण गरिएको छैन। नाकामा राखिएको हेल्थ डेस्कमा केहीको मात्रै एन्टिजेन र स्वाब परीक्षण गर्ने गरिएको छ।

५६ जनाको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ

भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दो रुपमा रहेको छ। सीमा नाका त्रिनगर९डोकेबजार० भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ।

शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ जनाको परीक्षणको नजिता पोजेटिभ आएको छ। शनिबार मात्रै सीमानाका भएर फर्केका ७६७ जनाको एन्टीजेन परीक्षण गरिएकामा जसमध्ये ३२ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए।

उनका अनुसार एन्टीजेन पोजेटिभ आएका सबै जनालाई धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा राखिएको छ। एन्टीजेन परीक्षणमा १४ वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्मको नतिजा पोजेटिभ आएको छ। एन्टीजेन पोजेटिभ आएकामा १५ जना कैलाली, दुई जना सुर्खेत, सात जना अछाम, एक जना कञ्चनपुर, तीन जना डोटी, एक जना जुम्ला, एक जना बझाङ र दुई जना डडेल्धुराका रहेका छन्।

सीमानाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्केकाको एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ। भारतबाट फर्कनेको सङ्ख्या धेरै भए पनि हेल्थ डेस्कमा भने स्वास्थ्यकर्मीको सङ्ख्या थोरै मात्र हुँदा परीक्षणमा समस्या हुँदै आएको छ।

सीमानाका त्रिनगर र गड्डाचौकी भएर भारतबाट फर्केका तीन जनामा नयाँ प्रकारको ९भेरियन्ट० कोरोनाको सङ्क्रमणसमेत देखिएको थियो। तीनै जना अहिले घरमै आइसोलेशनम बसेका छन्।

भारतमा कोरोनाको सङ्क्रमण बढेसँगै मजदूरीका लागि गएका नेपाली घर फर्कन थालेका छन्। केही खेतमा लगाएको गहुँबाली भित्र्याउन र सुदूरपश्चिमको चाडपर्व चैते दशैँ मनाउनका लागिसमेत घर फर्केका हुन्।

सीमा क्षेत्रको आवतजावतमा खुकुलो गरिएपछि निकटवर्ती भारतीय बजारमा किनमेल गर्नेसमेत आवतजावतको कार्य भइरहेकाले कोरोनाको सङ्क्रमणको खतरा बढेको छ।

पछिल्लो २४ घन्टामा एक सय २८ मा कोरोना संक्रमण

देशभर पछिल्लो २४ घन्टामा थप १२८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार सात २७ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ७७ हजार सात ६८ पुगेको छ । पछिल्लो २४ घन्टामा कारोनाका कारण एकजनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा उपचारपछि निको भएर घर फर्किनेको संख्याएक सय ६१ जना छन् । योसँगै उपचारपछि निको हुनेको संख्या दुई लाख ७३ हजार एक सय २३ पुगेको छ । नेपालमा निको हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या एक हजार ६ सय १३ रहेका छन् । उनीहरूमध्ये ५९ जना क्वारेन्टिनमा छन् । अन्य आइसोलेसनमा छन् । हालसम्म नेपालमा २२ लाख ८१ हजार आठ सय ३२ को पिसिआर परीक्षण भएको छ । त्यस्तै, तीन हजार ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु